मानिसको जीवनमा अनेकौँ उकाली र ओरालीहरू आउने रहेछन्। कहाँनिर कस्तो अवस्था आइपर्छ केही भन्नै नसकिने रहेछ।सबै जन्मेकाहरूको जीवन सुखपूर्ण र आनन्ददायक कहाँ हुने रहेछ र! कैयौँ बाधा, अड्चन, दु:ख, कष्ट र पीरको अग्लो पहाडलाई कुन वेला कसरी पार गर्नु पर्ने हो अत्तोपत्तो नहुने अवस्थासँग पनि जुध्नु पर्ने रहेछ। कुनै जमानामा दुर्गम मानिने नेपालको पश्चिममा पर्ने जिल्लाको रूपमा मानिएको जाजरकोटमा पिता धनबहादुर सिंह तथा माता जसमतीको गर्भबाट आजभन्दा एकतीस वर्षअघि जन्मेका सनातनको बल्यकाल बुवाका नौ जना श्रीमतीहरू र तिनका नामसमेत थाहा नहुने लाला-बालाका हुलमा बित्यो।हुनेखाने परिवार भए पनि दुर्गम मानिने पहाडी चट्टानहरूले घेरिएको, वर्षाको पानीबाहेक अरू वेला सिचाइ नहुने खेत-बारीमा सीमित उब्जनीहरूको भरमा के नै भरण-पोषण हुन सक्थ्यो र? फेरि घर-परिवारका महिलाहरू सबै खेत-बारीमा पैँठो जोडेर परिश्रम नगरे ठूलो जौ-जहानको भरणपोषण हुनै धौ धौ पर्ने अवस्थाले पनि काखका सबै लालाबालाहरूले माया,प्रेम, चाहिदो सेवासुश्रूषा पाउँछन् भन्नै गाह्रो।
पिता गाउँको हुनेखाने व्यक्ति तथा गाउँलेहरूको हितैषी भएकाले पनि होला बालक सनातनले कतै माया, स्नेह पाउँथे भने कतै प्रतिशोधको भावना राख्नेहरूको कारण एक्लै-दुक्लै हिँड्न हुने अवस्था पनि थिएन।अज्ञानताको निस्पट्ट अँध्यारोमा डुबेको समाजमा कसले सही के हो? असल के हो सिकाउने? सबै उस्तै अन्धकारमा जीवन बिताइरहेका थिए।
शहर-बजारबाट टाढा मनमोहक प्राकृतिक छटाले देदीप्यमान गाउँमा झन्डै चार वर्षसम्मको जीवन दु:खम्-सुखम् बित्यो।उत्तरतर्फ लमतन्न फैलिएको पियारी, साइकुमारी, खुम्बु हिमालका मनमोहक दृश्य, पूर्वतर्फ कलकलाउँदो भेरीनदी, पश्चिमतर्फ कर्णालीनदी, जता हे-यो त्यतै हरिया वन! अनेकौँ जातका रुख-बिरुवाहरू, जङ्गलमा फूलेका विभिन्न प्रकारका रङ्गीचङ्गी फूलहरूले कतै स्वर्ग भनेको यही त होइन जस्तो भान पर्थ्यो। कता हो कता रहेको स्वर्ग कसैले नदेखेकोले धर्तीको स्वर्ग यही सुरम्य स्थललाई भनिदिए पनि केही फरक नपर्नेजस्तो लाग्थ्यो केटाकेटी वेलामा सनातनलाई आफ्नो गाऊ-घर।
शान्त, सुन्दर रहेको नेपाललाई केही स्वार्थी तत्त्वहरू के गरेर हुन्छ बिथोल्न प्रयत्न गर्दै गरेको छनक उतिवेलै पनि विभिन्न घटनाक्रमहरूले वेला वेलामा झझक्याउँथ्यो।स-साना भुरे-टुक्रे राज्यहरू हुँदाको अवस्थामा कतै केही शान्तिको आभास हुन्थ्यो भने कतै निरंकुशताको चरम उत्कर्षको डरलाग्दा कथाहरू हजुरबुबा-हजुरआमाहरूको मुखबाट सुन्तलाको केस्रा-केस्राजस्तो गरी छुट्याएर सुनाउँदा शरीरभरि एक्कासी भयले आक्रान्त पार्दा के भएको हो, के हुँदैछ जस्तो लाग्थ्यो।
राणाशासनकालको कहर पनि आमा-बुबाका पुस्ताले प्रशस्तै भोगे।हुकुमी शासनको त्यो जमानामा शासक र उनका आसेपासेहरू मनमा जे लाग्थ्यो त्यो गर्न स्वतन्त्र थिए।शासकको हुकुम हो कि आसेपासेको मनको लहड, कसले? कोसँग? कहाँ गई बुझ्ने? काठमाडौँ राजधानीबाट कता हो कता टाढा दुर्गम ठाउँमा थियो उनको गाउँ। न आजको जस्तो सडक, न हवाइ यातायात, न टेलिफोन! कुनै डाँडाको टाउरामा उभिएर कटुवालले सरकारी उर्दी र सार्वजनिक महत्त्वका सूचना कराउदै-चिच्याउँदै अवगत गराउने त्यो कहालिलाग्दो जमाना!
प्रजातन्त्रको लागि भएको २००७ सालको आन्दोलन ढिलै भए पनि त्यो दुर्गम जाजरकोटमा पुगेको थियो।बुझ्ने थोरै थिए, नबुझ्ने धेरै थिए, हो-होमा लाग्नेको हुलमा इन्क्लाव जिन्दाबादको नारा चर्किएको, आन्दोलनले विस्तारै यत्र तत्र चर्को रूप लिएको किस्सा-कहानी आमा-बाबुको मुखबाट वेला-वेलामा सुन्ने मौका पाएरै हुर्के सनातन।
आन्दोलनको यज्ञवेदीमा कैयनले ज्यान गुमाउनु प-यो। एक जनाको ज्यान जानु भनेको एउटा परिवारको जीवन बरबाद हुनु हो। गाउँमा यस्तो बरबादीका कथा कति हुन् कति प्रत्यक्ष अवशेषको रूपमा देखेका सनातनले बोली राम्ररी फुट्दा नफुट्दै गाइँगुइँ ‘माओवादी’ भनिने समूह जन्मेको र त्यसले राजतन्त्रलाई सिध्याएर साम्यवादी व्यवस्थाको स्थापना गर्ने रे भनेकोसम्म सुनेका थिए।चारै वर्षको उमेरमा माओवादी द्वन्द्वको खड्गो बेहोर्नु पर्ने परिस्थिति अनायासै आइपुग्यो।आफन्तमध्येकै माओवादीका कार्यकर्ताले उनलाई अपहरण गरेर कैयौँ दिनको पैदल यात्रा गराउँदै डाँडा-काँडा, भीर-पहाड, जङ्गल-वस्ती हुँदै किन काश्मिर पु-याएको थियो, उनले बुझ्न सकेका थिएनन्।यो वि.सं. २०६१ को घटना हो।
जङ्गलै जङ्गल राति-राति बाटोमा अनेक प्रकारको दु:ख-कष्ट, हन्डर झेल्दै काश्मिर पु-याएको झन्डै एक वर्षपछि तिनै माओवादी भनिनेहरूको जत्था घरमा पसेर आफ्नो प्राणप्यारो बाबुको हत्या गरेको दर्दनाक घटना केटाकेटी अवस्थैमा सुन्नु प-यो। माओवादीले अनेकौँ पटक धारिला खुँडा-खुकुरीले हाने पनि घाटी छिन्न नसकेर सात दिनसम्म रगतको आहालमा पिताजीले कष्ट पाएको, छटपटाएको दृश्य आफन्तहरूले त्यसको केहीपछि उतै भेट हुँदा सुनाइदिएकोले कैयौँ दिनसम्म त्यो बीभत्स घटना मन-मस्तिष्कमा आइदिन्थ्यो। त्यसलाई जति बिर्सन खोजे पनि रात-रातभर त्यही घटनाको सम्झनाले सुत्न नसकेको स्मृति सनातनले अझै बिर्सन सकेका छैनन्।अनेक रात रुदै रुदै बित्यो।परदेशमा आफ्नो घर-परिवारको सम्झनाहरू बढी आउने रहेछ।शायद पिताजीको हत्या गरेरै छोड्छौँ भन्ने कुरा उनीहरूले पहिल्यै योजना बनाइसकेका हुँदा हुन्।त्यसैले सनातनलाई अपहरण गर्ने योजनाको तानाबाना बुनेका थिए!
पिताजीको हत्याले घर-परिवारमा अनेकौँ प्रकारको तनावको सुरुआत आँधिबेरि बनेर आयो।घरमा भएको जे जति धनमाल थियो त्यो सबै लुटेर लगिहाले।घरमा एक छाक खान पनि धौ धौ पर्ने नाजुक अवस्था बनाइदिएर उनीहरू गए।घरमा भएको धन-सम्पत्ति गरगहना, सुन,चाँदी जे जे थिए भएभरको लुटेर जाँदा पनि जाने बखतमा ‘तिमीहरू सबै जना यहाँबाट भागेर अन्यत्र गएनौँ भने तिम्रा बाबुको जस्तै हाल बनाइदिन्छौँ’ भनेर धम्की दिए।परिवारका बाँचेका सदस्य एवं कामदार, गोठालाहरूलाई नराम्ररी धम्क्याएकाले आफ्नो घरबारै छोडेर जानु पर्ने बाध्यता आइप-यो।कहाँ विधिवत पिताको सद्गत, कहाँ क्रियाकर्म! सनातनका बाँचेका परिवारहरू कोही बिरानो तराईतिर झरे, कोही देश छोडेर सीमापारि लाहुरेको दु:ख-कष्टमय जीवनको भुमरीमा फस्न पुगे।
नाबालक चार वर्षे सनातनलाई माओवादीले कहिले लद्दाख, कहिले कुल्लु, कहिले मनाली पु-याए। त्यहाँ न आफ्ना भन्ने कोही छन्, न चिने-जानेका नै कोही छन्। एक किसिमले भन्ने हो भने सनातनको लागि ‘नरोवा कुञ्जरोवा’ नै भयो। लद्दाखमा भोटे भेषका ज्ञानी-ध्यानी योगी साधकहरूलाई आक्कल-झुक्कल देख्दा किन उनीहरू त्यस्तो फरक भेषमा हिँडेका होलान् जस्तो खुल्दुली लाग्थ्यो।कुमाउ, गढवाल, हरिद्वार, ऋषिकेशको यात्रामा फेरि गेरुवाधारी साधु,सन्त देख्दा उनीहरू किन त्यस्तो भेषमा हिँडेका होलान् जस्तो कौतुहलता केटाकेटी मनमै ऊवेला आउथ्यो।यसरी दुई-तीन वर्ष माओवादीको फेरमा परेर दु:ख-कष्ट भोग्दै भाग्यलाई धिकार्दै हिडे।कहिलेकाहीँ त भोकभोकै मर्नु न बाँच्नुको दोसाँधमा पनि पुगे।जीवनको अत्यन्त कठोरतम यात्रा भन्दा हुन्छ त्यस अवधिलाई।
यसरी अनेकतिर घुम्दा-घुम्दै कहिलेकाहीँ बाटो-घाटोमा भेटघाट हुने असल योगी, सन्तहरूको आशीर्वाद पनि पाइन्थ्यो।कुराकानी गर्दा कोही साधु-महात्मा उनीहरूको कुटीमा गए योग-ध्यान सिकाइदिन्छु भन्थे।के पाइने रहेछ त्यहाँ जाँदा भनी जिज्ञासु बनेर हेर्दा धर्म-अध्यात्मबारे केही बुझ्न पाए।यसो भएता पनि हातमुखै जोड्न गाह्रो अवस्था थियो। कैयौँ दिन त केबल पानी पिएर मात्रै पनि दिन कटाए।जीवन बहुतै कष्टकर थियो।घर-परिवारको माया-स्नेह पाउनु पर्ने वेलामा घर-परिवारबाट टाढा कता हो कता अन्कन्टारमा कष्टपूर्ण जीवन व्यतीत गर्नुपर्दा आँखाबाट छल्छल्ती आँसुका धारा बहन्थे।तर के गर्ने उम्कने उपाय कुनै थिएन।
काश्मिरको जाडोमा न्यानोतातो हुने किसिमको कुनै लुगा थिएन।एक दिन चार वर्षे बालक सनातन जाडोले कठ्याङ्ग्रिएर थरथर कामेकोजस्तो लागेर अब मर्ने पो हो कि भनेर अपहरणकर्ताले घामको मुख देखाउन सडक पेटीमा ल्याएको वेला बाटो हिँड्ने वटुवाहरूमध्ये एक जनाको हृदय द्रवित भएछ।साँच्चै हरि रहेछन् उनको हृदयमा न्यानो-तातोको लागि के के गर्नु पर्ने हो लुगा, टोपीको व्यवस्था गरिदिए।बस्नलाई न्यानो-तातो हुने एउटा कोठाको व्यवस्था गरिदिए।यस्तैगरी दयावानहरूको दया, सहानुभूतिहरू पाउँदै सनातन हुर्कदै-बढ्दै गए।कहीँ कसैको घरमा काम गर्ने नोकर बनाइए, कहीँ गोठालो बनाइए, कतै कुनै भोजनालयमा भाडा माझ्ने बने।बाच्नु परेको छ के गर्ने?
नौ-दश वर्षको केटाकेटी भए पनि ढुङ्गा, गिट्टी कुट्न सक्ने भएपछि हिमाञ्चल प्रदेशमा झन्डै चार वर्ष यताउति भौतारिदै कुल्ली काम गरेर जीवन निर्वाह गरेका सनातन भारत पलायन भएको सात वर्षपछि मातृभूमि नेपाल फर्केर आउँदा जताततै लथालिङ्ग, भताभुङ्ग अवस्था देख्दा मनै कुडियो।केही न केही मेसो समाउनु प-यो भनी खोजिपस्दा गाई-भैँसी गोठालो हुनु लेखेको रहेछ, त्यसलाई भए पनि छोड्नु भएन भन्ने सम्झी गोठाले जीवन अपनाउँदै कहिले डोल्पा, कहिले जुम्लाको उच्च हिमाली श्रृखलामा अवस्थित जुम्ला, जाजरकोट र डोल्पाको प्रमुख तीर्थस्थल मानिने साइँक्वाटी, जुन स्थानीय समुदायमा बाइस पाटनको नामले पनि विख्यात छ, त्यहाँ नितान्त एक्लो जीवन बिताउन पुगे।त्यही नै हो सनातनले केटाकेटीमा साधु-सन्त- भिक्षुबाट सिकेका योग-ध्यान, भक्तिलाई अध्यात्म साधनाको रूपमा परिस्कृत गर्ने अवसर मिल्यो।
त्यहाँ दुई वर्षको कठिन साधनापछि घर-परिवारको सम्झनाको साथै पढ्ने धोको तिव्र भएकोले जन्मस्थल जाजरकोट फर्कायो। केही महिना त्यहाँ बसेपछि कुन ठाउँमा बसेर पढ्दा भविष्य उज्वल होला भन्ने धोकोले फेरि सल्यान, सुर्खेत हुँदै नेपालगञ्ज, पोखरा,स्याङ्जा पु-यायो।तर ती ठाउँहरूमा अनुकूल परिस्थिति मिल्न गएन। वि.सं.२०६१ सालमा पुन: भारतको यात्रामा निस्किए र दिल्ली पुगे। यस पटकको यात्रा दुष्करै थियो।
दिल्लीबाट ऋषिकेश, हरिद्वार पुगी गल्ली-गल्ली चाहार्दै त्यहाँ ज्याला-मजदूरीको काम गरी दुई वर्ष जतिपछि नेपाल फर्के। नेपालमा करीब छ महिना जति बसेर कुनै निश्चित गन्तव्यको पहिचान हुन सक्छ कि भनी बस्दा पनि कुनै नवीन सोचको उदय नभएकोले पुन: भारततिरै जाने सोच बनाएर सनातन फेरि परदेशिए।
यस पटकको भारत बसाइ चार वर्षको रह्यो।धर्म-अध्यात्ममा केटाकेटीदेखि नै रस बसेकोले यस अवधिमा भारतका विभिन्न धार्मिक स्थलका अनेकौँ साधु-सन्त-महात्माहरूसँग सत्सङ्ग भयो।त्यसवेला साधु-सन्तहरूबाट धेरै कुराहरू सिक्ने मौका पाए, जसले उनको अहिलेको साधु जीवनमा निकै ठूलो योगदान पु-याइरहेको छ।विधिवत् विद्यालयमा भर्ना भएर पढ्नुपर्छ भन्ने सोचले तानेकोले उनी पटक-पटक नेपाल र भारतका विद्यालयहरूमा भर्ना हुने आशयले आउने-जाने गर्थे।तर हिम्मतै गर्न सक्दैनथे।किनभने अभिभावकविहीन उनलाई कसले आडभरोस दिन्थ्यो? निधारमै पढाई लेखिएको रहेनछ शायद विद्यालयीय अध्ययन गर्न झन्डै बत्तीस वर्षको उमेर बितिसक्दा पनि पाएका छैनन्।
वि.सं. २०६८ सालमा केही रुपैयाँ-पैसाको जोहो गर्नुप-यो भन्ने मनमा लागेर दुई महिना जति बझाङ्गको हिमाली भेगमा जडिबुटीको काम गर्न थाले।जडिबुटीको काम उनको लागि फलदायी भयो।चार-पाँच महिनामै उनले पचास हजार जति कमाउन सफल भए।त्यसपछि के चाहियो उनको खुट्टा भुइँमा न भाडामा भएजस्तो भयो।अब उनको मनमा काठमाडौँको दरवार हाइस्कूलमा अध्ययन गर्ने उत्कट अभिलाषा जाग्यो।काठमाडौँको महँगीमा कहाँ बस्ने? कहाँ खाने? प्रश्न अनुत्तरित थियो।
जे पर्ला आएको बेहोरुला भनेर एक दिन दरवार हाइस्कूलमा कक्षा पाँचमा भर्ना भए।काठमाडौँको बसाइमा पशुपति, गुह्येश्वरी, स्वयम्भूनाथ आदि तीर्थस्थलहरूको भ्रमण गर्थे। मध्य बानेश्वरस्थित कवीर आश्रम उनको सहाराको ठाउँ बन्यो केही समयको लागि।एक दिन त्यही आश्रमका आदर्श साहेवले कुनै पुस्तकको पाण्डुलिपि बत्तीसपुतलीस्थित डा.गोविन्द टण्डनको घरमा छोडेर आउने कामको जिम्मा पाए। अघि कहिल्यै नगएको ठाउँमा मुस्किलले उहाँको घर पत्ता लगाइ साक्षात्कार हुने अवसर मिल्यो।उहाँबाट विलक्षण प्रतिभाका धनी, उद्भट विद्वान् डा.स्वामी प्रपन्नाचार्यज्यूको विद्वत्ताको बारे थाहा पाएर भोलिपल्टै भेट्न पुगे। त्यहाँ गएर हेर्दा उहाँको स्वास्थ्यस्थिति दिनानुदिन नाजुक बन्दै गएको देख्दा यस्ता विद्वान् साधुको सेवाभन्दा पढाइ ठूलो हुन सक्दैन भन्ने कुरा मनमा आयो।
जीवनको उत्तरार्द्धतिरको उहाँको बुढ्यौँली जीवनको सेवासुश्रूषा हजारौँ गुणा महान् हुन्छ भन्ने सम्झी भर्खर भर्ना भएको दरवार स्कूलको पढाई छोडेर स्वामीज्यूको दिनरातको सेवामा जुट्न पुगे।काम सजिलो पटक्कै थिएन।एकातिर बुढ्यौली शरीर, अर्कोतिर दमको रोगी स्वामीज्यूको बसाइ छ मृगस्थलीमा।मृगस्थलीबाट कहीँ बाहिर जानु प-यो भने उहाँलाई हिँडेर आउन-जान हरेक दिन चार-पाँच घन्टा लाग्थ्यो।बिरामी भएर डाक्टरकहाँ लग्नुप-यो भने पनि स्टेचरमा बोकेर पु-याउनु पर्ने। त्यसबखत साथी-सहयोगी पाउनै पनि मुस्किल।कहिलेकाहीँ त दिनको दुई-तीन पटक डाक्टरकहाँ लग्नु पर्ने अवस्था आउँथ्यो।कम कठिन र चुनौतीपूर्ण थिएन त्यो काम!
डा.स्वामी प्रपन्नाचार्यज्यूको सेवा गर्दा-गर्दै शिष्यत्व पनि ग्रहण गर्न पुगे सत्य सनातनले उहाँबाटै।यसले त अरू जिम्मेवारी थप्यो। स्वामी बाँचुञ्जेलसम्म जे-जस्तो सेवा आवश्यक पर्छ त्यसलाई सम्पन्न गर्दै, जहाँ जान्छु भन्नुहुन्छ, त्यहाँ-त्यहाँ पु-याउँदै सेवामा अविरल जुटे सत्य सनातन। २०७२ सालको विनाशकारी भूकम्पको वेला स्वामीज्यू चन्द्रेश्वर सत्तलमै हुनुहुन्थ्यो।डाँडामा रहेको चन्द्रेश्वर सत्तलमा डरलाग्दा अनेक कम्पनहरूले अब त्यहाँ बस्नै नसक्ने भय उत्पन्न गरायो।स्वामीज्यू त्यहाँ बस्न पटक्कै मान्नु भएन।उहाँको बुढ्यौली शरीर तथा शारिरीक अस्वस्थ्यतालाई विचार गर्दा त्यहाँ राख्नु उपयुक्त पनि हुन्थेन।त्यसैले त्यही सत्तलको उत्तरतर्फ रहेको खाली जग्गामा जस्ता, काठको जोहो गरी एक्लै खटिएर दुई दिनमै स्वामीजीलाई त्यहाँ सारे र सेवा गर्दै रहे।झन्डै डेढ वर्ष त्यही कुटीमा स्वामीज्यूको बास भयो।स्वामीजी ब्रह्मलीन हुनु केही अघिमात्रै फेरि चन्द्रेश्वर सत्तलमा बस्न जानुभएको हो।
स्वामीज्यूको अन्तिम दिनसम्म सत्य सनातनले साँच्चैको एउटा असल शिष्यले गर्नुपर्ने सेवासुश्रूषामात्र गरेनन् बरु समाधिसम्मको यात्रालाई पनि आफ्नै हातले सम्पन्न गरेर पूर्णता दिए।शायद यही सेवासुश्रूषाकै लागि सत्य सनातनको जन्म भएको रहेछ जस्तो पनि लाग्छ सत्य सनातनलाई। नत्र कहाँ पूर्वको स्वामीजी आफू पश्चिमको, न कुनै साइनो न कुनै नाता! कसरी भेट भयो? आज सम्झदा पनि उनी रोमाञ्चित हुन्छन्।
बनिबनाउको घरमा विना कारण यमराजरूपी माओवादी पसेर छँदाखाँदाको घर-परिवारलाई ध्वस्त पारेको दृश्यहरू आँखामा बराबर आउँछन्।आफू जन्मे-हुर्कदै गरेको गाउँको सम्झना आउँछ, आफन्तहरूको याद आउँछ, देशको माया लाग्छ। यी सारा दृश्यहरू सम्झिदा सत्य सनातनको आँखामा आँसुको समुद्र बग्छ। तर त्यसबेला हेरिदिने, दु:ख सुनिदिने ईश्वरबाहेक कोही छैन।जसोतसो गरिबीमा जीवन गुजारा हुँदै जान्छ।जुन बेला केटाकेटीले आमा-बाबु, परिवारको माया-ममता, संस्कार पाउनु पर्ने हो, त्यसबाट वञ्चित बन्दै बेवारिसे बालकझैँ जीवन बिताउन बाध्य हुन्छन् सनातन।
भारतका विभिन्न गाउँ, शहर, मोहल्ला चाहार्दा-चाहार्दै उनमा एउटा सोच उब्जिन्छ- मठ-मन्दिरको सहारा पो कतै पाइन्छ कि! त्यसपछि दिल्लीदेखि मथुरा-वृन्दावन, कर्नाटकदेखि हरिद्वार-ऋषिकेश सबैतिर अन्तरहृदयमा बाच्नुको जिजीविषा बोकेर पुग्छन्।समाजमा जहाँ जाउँ त्यहाँ आखिर कुनै न कुनै स्वार्थ भइहाल्ने रहेछ। चार-पाँच वर्षको त्यो फुच्चे केटोलाई के देखेर? के भनेर? कसले सहयोग गर्ने? तैपनि आश्रममा पुगिसकेपछि केही न केही प्रसादी पाइन्थ्यो। कहीँ कतै सहारा नभएको बखत त्यसले पनि ठूलो राहत दियो सनातनको जीवन यात्रामा।
मठ-मन्दिर आश्रममा पुगेपछि त्यहाँका मठाधीश, महन्त पहिला आफ्नो सम्प्रदायमा दीक्षित हुन आग्रह गर्थे।नभए के नाताले आश्रममा राख्ने? के नाताले खुवाउने भन्ने विचार उनीहरूको हुन्थ्यो।हुन पनि हो कुनै सम्प्रदायमा दीक्षित भइएन कि पराया सम्झने गलत परिपाटी संस्कृतिकै अङ्गजस्तो बनेर विस्तार हुँदै डरलाग्दो रूप लिइरहेको उनले के पत्तो पाउनु? उनको त्यो केटाकेटी उमेरमा के हो सम्प्रदाय? कुन मठ-मन्दिर कुन सम्प्रदायको हो उनले थाहा पाउने कुरा भएन। त्यतिखेरको उनको ध्येय भनेको जसरी भए पनि बाँच्नु परेको छ, जसरी भए पनि जीवन धान्नु परेको छ, त्यही यात्रा क्रममा कहिले जगन्नाथपुरीका शङ्कराचार्यका पुगी शैव बनेर त्रिपुण्ड्रधारी बनेर हिँडे, कहिले वैष्णव बनेर उर्ध्वपुण्ड लगाइ हिँडे, कहिले कृपालुजीको शिष्यत्व स्वीकार गरे, कहिले दक्षिणभारतमा पुगी तोताद्रीमठका मठाधीश मधुरकविको आशीर्वाद लिएर भक्तिपथको यात्री बने। जीवनयात्रामा धेरै साधु-सन्त-महात्माको आशीर्वाद लिन उनी सफल भए।कहिले कवीर पन्थी बनेर सात्त्विक जीवनको हिमायती बने, कहिले भने बडेमानको जटा र याँमानको तरवार धारण गरेर पनि हिँडे।रूप,रङ्ग देख्दै जो कोही डराउँथे।शायद उनी सात्त्विक, रजस, तमसको गुणलाई व्यवहारमा परख गर्दै थिए।
दशनामी, वैरागी साधुहरूसँगको संगत हरिद्वारको २०६१ सालको अर्धकुम्भमा भलिभाँती गर्न पाउनु भयो सत्य सनातनले।हरिद्वारमा आनन्दमयी माँबाट अति नै प्रभावित बन्न पुग्नुभयो भने ऋषिकेशको शिवानन्द आश्रमको सेवाबाट पनि त्यत्तिकै प्रभावित हुनुहुन्छ।
बाग्मतीनदीको किनारामा अवस्थित गुफामा केही वर्ष साधनारत रहेर आजकाल सत्य सनातन मृगस्थली जङ्गलको अनकन्टार ठाउँमा पर्णकुटीमा साधनारत छन्।जाजरकोटको आफ्नो जन्मस्थलमा छेलोखेलो जग्गा-जमीन बञ्जरभूमि बनिरहेको छ तर त्यहाँ उनी रमाउन सकेनन्।आफन्तहरू सबै घर-गाउँ छोडेर यत्र तत्र लागेका तथा बुवाको दु:खदायी हत्याको सम्झना त्यहाँ पुग्नासाथ हुने भएकोले त्यहाँ रम्न-जम्न सकेनन्।
हिजोआज कुटीमा बिहानको समयमा नित्य साधना तथा होमादि गरेर मृगस्थली जङ्गलको ठाउँ-ठाउँमा रोपेका वर-पीपल, समीका बोट-बिरुवाहरूमा गोडमेल र आफ्नै हातले पानी हाल्न पुग्ने दैनन्दिनी बन्न पुगेको छ।आफ्ना गुरु डा.स्वामी रामकृष्णप्रपन्नाचार्यको समाधिको दर्शन गरेर मृगस्थली वरपर रहेका गोरखनाथ, विश्वरूपा, गुहेश्वरी, वत्सलेश्वरी, राममन्दिर आदिको प्रदक्षिणा एवं दर्शन गर्दै समय मिलेमा भगवान् श्रीपशुपतिनाथको दर्शन गर्ने नियमिततालाई निरन्तरता दिइरहेका छन्।यसैलाई उनी सिध्द सम्पथ यात्रा ठान्छन्।जीवनमा पल पलको महत्त्व छ, हरेक पल जीवनको उत्कर्षका लागि, प्राणीमात्रको हितका लागि र मानवताकै लागि न्योछावर गर्न सकियो भने जीवन सार्थक बन्छ भन्ने उनी ठान्छन्।
कुटीमा भीडभाड उनलाई मन पर्दैन।जीवनमा सही रूपान्तरण खोज्नेभन्दा आ-आफ्नै स्वार्थमा अल्मलिएर असान्दर्भिक वाद-विवादमा अलमलिन उनी चाहदैनन्।त्यसैले बिहानको समय सिध्द सम्पथयात्रामा बिताउनु नै श्रेयस्कर सम्झन्छन्।हरेक दिन यसैगरी ‘सादा जीवन उच्च विचार’ तर्फको यात्रा अविरल चलिरहेको छ।
